पाकिस्तानमा हिन्दू धार्मिक सम्पदामाथि संकट, रामलीला मन्दिर भत्काउने प्रयासको विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, कार्तिक ७ गते ।

कैलाश माझी : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लाको रहिम बजारमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न खोजिएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालले घोर भर्त्सना गर्दै कडा विरोध जनाएको छ।

विश्व हिन्दू परिषद् नेपालअन्तर्गत मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले शुक्रबार (२०८३ कात्तिक ७ गते) प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक तथा धार्मिक सम्पदामाथि डोजर चलाउने प्रयास निन्दनीय र अमानवीय भएको जनाएको हो।

विभागका प्रमुख दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा मन्दिर भत्काउने प्रयासले सनातन धर्मावलम्बीहरूको धार्मिक भावनामा चोट पुर्‍याउनुका साथै पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दू समुदायको धार्मिक अधिकार र सांस्कृतिक पहिचानमाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख छ।

विज्ञप्तिअनुसार स्थानीय हिन्दू समुदाय तथा नागरिक समाजका अभियन्ताहरूको विरोधपछि मन्दिर भत्काउने कार्य रोकिएको र स्थानीय प्रशासन तथा इभाकुई ट्रस्ट प्रपर्टी बोर्ड (ईटीपीबी) ले मन्दिर सिल गरेको जानकारी प्राप्त भएको छ। तर, भत्काउने प्रयास रोकिँदैमा मात्र पर्याप्त नहुने भन्दै परिषद्ले मन्दिरको दीर्घकालीन संरक्षण, सुरक्षा र जीर्णोद्धारका लागि स्थायी व्यवस्था गर्न माग गरेको छ।

परिषद्ले मन्दिर भत्काउने प्रयासमा संलग्न भू–माफिया, स्वार्थी समूह तथा जिम्मेवार अधिकारीहरूको निष्पक्ष छानबिन गरी दोषी ठहरिएकालाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न पाकिस्तान सरकारसँग माग गरेको छ।

त्यस्तै, रामलीला मन्दिरलाई ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा कानुनी संरक्षण प्रदान गर्दै यसको मौलिक स्वरूप कायम राख्न, आवश्यक जीर्णोद्धार गर्न र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

परिषद्ले पाकिस्तानमा रहेका सम्पूर्ण अल्पसंख्यक हिन्दू समुदायका मठ–मन्दिर, धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा समुदायका सदस्यहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। धार्मिक तथा सांस्कृतिक अधिकारको निर्बाध उपभोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ।

धार्मिक सहिष्णुता, सद्भाव र मानवताको सम्मान गर्दै ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै परिषद्ले कुनै पनि समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानमाथिको आक्रमण स्वीकार्य नहुने जनाएको छ।

परिषद्ले पाकिस्तानका स्थानीय हिन्दू समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै विश्वभरका सनातन धर्मावलम्बी, मानवअधिकारकर्मी तथा सम्पदा संरक्षणमा क्रियाशील संस्थाहरूलाई घटनाको निष्पक्ष छानबिन, मन्दिरको संरक्षण र धार्मिक अधिकारको सुनिश्चितताका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक रूपमा आवाज उठाउन अपिल गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।