सुरुङ्गा घटनामा गम्भीर आरोप, पीडितलाई न्याय र दोषीमाथि कानुनी कारबाहीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–९, टिकुलियामा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोप लागेका तीन जनाको पहिचान खुलेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त विवरणअनुसार, सिरहा घर भएकी पीडित महिला दशैँ मनाउन बहिनीको घर आएकी थिइन्। दुर्गा पूजाको मूर्ति विसर्जनपछि बलान नदीबाट फर्किने क्रममा ट्र्याक्टरमा इन्धन सकिएपछि उनी पैदल घरतर्फ जाँदै थिइन्।

सोही क्रममा बाटोमा तीन जनाले उनलाई रोकेर नजिकैको आँपको बगैँचामा लगेको र यौन दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ। घटनापछि उनलाई बेहोस अवस्थामा छाडिएको र घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजी गरी उद्धार गरेको बताइएको छ।

पीडितले बिहीबार साँझ करिब ५ बजे कडरबोना इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका तीनै जनाको पहिचान भइसकेको छ। उनीहरूलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य जारी राखेको छ।

यसैबीच, पीडित परिवारले घटनालाई दबाउन केही स्थानीय नेताले विभिन्न प्रलोभन दिएको आरोपसमेत लगाएको छ। उक्त आरोपबारे भने थप पुष्टि हुन बाँकी छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको यस घटनामा आरोपितहरूको दोष अदालतबाट प्रमाणित हुन बाँकी छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।