सर्लाहीमा ईभी दुर्घटना, १२ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही, कार्तिक ७ गते ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान (ईभी) र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

प्राप्त विवरणअनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको थियो। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका बाराको सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर

दुर्घटनामा घाइते हुनेमा ईभी चालक बारा महागढीमाई नगरपालिका–६ निवासी ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिका–९ निवासी ४८ वर्षीय राजेन्द्र राम रहेका छन्।

त्यस्तै, सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय राजदेव राम, ४० वर्षीय विनोद राम र ४७ वर्षीय रुदल राम घाइते भएका छन्।

यसैगरी, बारा हरिहर राम, कलैया उपमहानगरपालिका–२६ निवासी ३७ वर्षीय नन्दन राम र ३७ वर्षीय उमेश राम, पचरौता नगरपालिका–७ निवासी ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढ गाउँपालिका–४ निवासी ४० वर्षीय नवलकिशोर राम पनि दुर्घटनामा घाइते भएका छन्।

घाइतेमध्ये कामेश्वर सहनी र भवन रामको अवस्था मध्यम रहेको छ। उमेश रामको अवस्था पनि मध्यम रहेको बताइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको विवरणमा उल्लेख छ।

ट्रक चालक प्रहरी नियन्त्रणमा

दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोक निवासी अन्दाजी ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने पहल भइरहेको जनाइएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गमा सडक अवरोध भने नभएको विवरणमा उल्लेख छ।

दुर्घटनाको थप विवरण तथा कारणबारे सम्बन्धित प्रहरी निकायबाट थप जानकारी आउन बाँकी छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।