काठमाडौं । सार्वजनिक स्थानमा मधेशबासी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व भड्काउने किसिमका अभिव्यक्ति लेखेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न मितिमा काठमाडौंका सार्वजनिक स्थानमा मधेशबासी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व भड्काउने आशयका शब्दहरू लेख्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले २०८३ साल भदौ २० गते काठमाडौं महानगरपालिका–३१, शङ्खमुलबाट खोटाङ, बाक्सिला नगरपालिका–१५ घर भई हाल शङ्खमुलमा बस्दै आएका ३५ वर्षीय विशाल गुरुङलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको हो।
प्रहरीका अनुसार उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
सार्वजनिक स्थानमा समुदाय विशेषलाई लक्षित गरी सामाजिक सद्भाव बिगार्ने, द्वन्द्व भड्काउने वा शान्ति सुरक्षामा असर पार्ने किसिमका गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।