सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने व्यक्ति पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं — गृह मन्त्रालयको सचिवालयका सदस्यहरूसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गरेको विषयमा सोधपुछ गर्न खोज्दा प्रहरीमाथि गालीगलौज तथा सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०८३ असोज १२ गते जारी गरेको प्रेस विज्ञप्ति नं. ६–२० अनुसार, सामाजिक सञ्जालमा व्यक्तिगत प्रतिष्ठा एवं सार्वजनिक मर्यादाविपरीत प्रसारण भएको भनिएको अडियो संवादको वास्तविकताबारे बुझ्न प्रहरीले एक व्यक्तिलाई सोधपुछ गर्न खोजेको थियो।

प्रहरीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ललाई सोधपुछ गर्न खोज्दा उनले खटिएको प्रहरी टोलीलाई गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको आरोप छ।

त्यसपछि प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बाँकेमा ६ वटा मुद्दा दर्ता रहेको प्रहरीको दाबी

प्रहरीका अनुसार पक्राउ परेका मल्लको CRS विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा विभिन्न ६ वटा मुद्दा दर्ता रहेको खुलेको छ।

प्रहरीले उपलब्ध गराएको विवरणअनुसार उनीविरुद्ध बाँकेमा दर्ता भएका मुद्दामा:

  • २०८३/०४/२६ — मुद्दा दर्ता नं. ७२: दूरसञ्चार ऐनसम्बन्धी कसुर, जिल्ला प्रहरी कार्यालय बाँके — फरार
  • २०८१/१२/०६ — मुद्दा दर्ता नं. ५१४: अभद्र व्यवहार
  • २०७९/०२/१३ — मुद्दा दर्ता नं. ५५१: बैंकिङ कसुर
  • २०७८/१०/०५ — मुद्दा दर्ता नं. ३३४: अभद्र व्यवहार
  • २०७८/०४/०५ — मुद्दा दर्ता नं. २४: अभद्र व्यवहार
  • २०७७/११/२६: ठगीसम्बन्धी कसुर

रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा प्रसारित अडियोको वास्तविकता तथा पक्राउ परेका व्यक्तिमाथिको वर्तमान कसुरबारे थप अनुसन्धान भइरहेको छ। उक्त अडियोमा गरिएको दाबीको सत्यता भने अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उक्त विवरण सार्वजनिक गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।