सिरहामा अवैध उत्खननविरुद्ध प्रहरीको एक्सन, गिट्टी–बालुवासहित तीन टिपर नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सिरहा । 
सिरहामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्यविरुद्ध प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ। यसक्रममा धनगढीमाई नगरपालिका–८ टेङ्गा टोल क्षेत्रबाट अवैध रूपमा उत्खनन गरिएको गिट्टी–बालुवा (ग्राभेल) बोकेका तीन वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असार १६ गते रातिको समयमा इलाका प्रहरी कार्यालय धनगढी सिरहा र अस्थायी प्रहरी पोस्ट कसहाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित गस्ती तथा विशेष निगरानीका क्रममा उक्त क्षेत्रमा चेकजाँच गरिरहेको थियो। सोही क्रममा आवश्यक कानुनी प्रक्रिया तथा अनुमति बिना उत्खनन गरी गिट्टी–बालुवा लोड गरेर ल्याइरहेका तीन वटा टिपर फेला परेपछि नियन्त्रणमा लिइएको हो।

प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनमा म.प्र. ०३–००१ क २४६०, म.प्र. ०३–००१ क २४५९ तथा बा.प्र. ०३–००१ क २८७३ नम्बरका टिपर रहेका छन्। ती टिपरमा लोड गरिएको नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका तीनवटै टिपर र त्यसमा रहेको गिट्टी–बालुवालाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। अब सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी जरिवाना, राजस्व असुली तथा अन्य कानुनी प्रक्रिया अघि बढाउनेछ।

पछिल्लो समय सिरहाका विभिन्न नदी तथा खोलानालाबाट रातिको समयमा जथाभावी गिट्टी, बालुवा र ग्राभेल उत्खनन हुने क्रम बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्दै आएका छन्। यस्ता गतिविधिले नदीको प्राकृतिक बहाव परिवर्तन हुनुका साथै कटान, डुबान, खेतीयोग्य जमिनमा क्षति, पुल तथा सडकजस्ता पूर्वाधारमा जोखिम र वातावरणीय असन्तुलन सिर्जना हुने वातावरणविद्को भनाइ छ।

प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण गर्न नियमित रूपमा गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ। अवैध उत्खनन, ओसारपसार वा बिक्री वितरणमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले प्राकृतिक स्रोत–साधनको संरक्षणमा सबै सरोकारवाला निकाय तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अवैध उत्खनन, चोरी निकासी वा अन्य गैरकानुनी गतिविधिबारे सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।