काठमाडौं, असोज १९ गते । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो।
गृह मन्त्रालयले २०८३ असोज १९ गते जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालबाट दाहालमाथि कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको थियो।
उक्त अभियोगमाथि जाँचबुझ गर्न गृह मन्त्रालयको २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ। साथै, तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ।
गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
मन्त्रालयले गृह मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।
कानूनविपरीत हुने गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा विधिको शासन, कानूनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।