संयमित पत्रकारिता गर्न मिडिया काउन्सिलको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम,साउन १४।

कैलाश माझी : मिडिया काउन्सिल मधेश प्रदेशले सुनसरी जिल्लामा भएको दुःखद घटनालगायत देशका विभिन्न स्थानमा विकसित भइरहेका घटनाक्रमका सन्दर्भमा जिम्मेवार पत्रकारिता गर्न तथा सामाजिक सञ्जाल संयमित रूपमा प्रयोग गर्न सबै सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेको छ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले तथ्य पुष्टि नभएका सूचना, अफवाह, उत्तेजनात्मक अभिव्यक्ति, घृणा फैलाउने सामग्री तथा सामाजिक, धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने सामग्रीको प्रकाशन, प्रसारण वा साझेदारी नगर्न अपिल गरेको छ। यस्ता सामग्रीले जनमानसमा भ्रम, त्रास र असुरक्षाको भावना सिर्जना गर्नुका साथै मुलुकको शान्ति, सुरक्षा र सामाजिक एकतामा नकारात्मक प्रभाव पार्न सक्ने काउन्सिलको भनाइ छ।

काउन्सिलले समाचार तथा सूचना सम्प्रेषण गर्दा पत्रकारिता आचारसंहिता, प्रचलित कानुन र व्यावसायिक जिम्मेवारीको पूर्ण पालना गर्न, आधिकारिक स्रोतबाट तथ्य पुष्टि गरेपछि मात्र समाचार सम्प्रेषण गर्न तथा कुनै पनि सामग्रीले थप तनाव वा जोखिम सिर्जना नगर्ने गरी उच्च संयमता अपनाउन आग्रह गरेको छ।

त्यस्तै, सामाजिक सञ्जालमा अपुष्ट सूचना, भ्रामक सामग्री, पुराना तस्बिर वा भिडियोलाई नयाँ घटनासँग जोडेर प्रसारण नगर्न, हिंसा वा द्वेष फैलाउने सामग्री साझेदारी नगर्न र संवेदनशील परिस्थितिमा सत्यता, संयम तथा व्यावसायिक मर्यादालाई प्राथमिकता दिन काउन्सिलले सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अपिल गरेको छ।

कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाद्वारा जारी विज्ञप्तिमा वर्तमान संवेदनशील परिस्थितिमा जिम्मेवार सञ्चार अभ्यासले सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।