संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज ६ गते ।

कैलाश माझी : प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय General Debate लाई सम्बोधन गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको High-level General Debate सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा सञ्चालन हुँदैछ।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी छन्।

जलवायु न्याय नेपालको प्रमुख मुद्दा

यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकले भोगिरहेका चुनौतीलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय भएका विनाशकारी प्राकृतिक विपत्तिबाट भएको क्षति, जलवायु परिवर्तनको प्रभाव र नेपालले भोगिरहेको असमान जलवायु जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनका असरबाट ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई महासभामा प्रस्तुत गर्ने तयारी गरेको छ। साथै जलवायु न्याय, क्षति तथा नोक्सानीसम्बन्धी कोष (Fund for Responding to Loss and Damage), जलवायु वित्त तथा प्रविधिमा सहज पहुँचका विषय उठाउने मन्त्रालयले जनाएको छ।

भोटेकोशी बाढीको विषय पनि उठाइने

गत २६ अगस्ट २०२६ मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सरकारको तयारी छ।

परराष्ट्र मन्त्रालयले उक्त विपत्तिले नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको तथ्यलाई पुनः उजागर गरेको जनाएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालले भोगिरहेको जलवायुजन्य विपत्तिको जोखिम र त्यसबाट सिर्जित क्षतिका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइनेछ।

सरकारले सार्वजनिक गरेको प्रारम्भिक Rapid Damage and Needs Assessment (RDNA) अनुसार उक्त विपत्तिबाट करिब १.८ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति र करिब ८८३ मिलियन अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ। पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने आकलन गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवसँग भेटवार्ता

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्रसंघसँग सम्बन्धित उच्चस्तरीय भेटघाट तथा छलफलमा सहभागिता जनाउनुहुनेछ।

नेपालको प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीको सहभागिता

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीको टोलीभन्दा अगाडि नै न्यूयोर्क पुग्नुभएको छ। उहाँले विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय छलफल, साइड इभेन्ट तथा द्विपक्षीय भेटवार्तामा सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालले महासभाको अवसरमा ‘Sagarmatha to the Sea: A Call to Action for a Climate-Resilient Future’ विषयमा साइड इभेन्टसमेत आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असर र जलवायु उत्थानशील भविष्य निर्माणका विषयमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने सरकारको तयारी छ।

२६ सेप्टेम्बरमा काठमाडौं फर्किने

प्रधानमन्त्री शाहको न्यूयोर्क भ्रमण छोटो रहनेछ। निर्धारित कार्यक्रमअनुसार उहाँ सेप्टेम्बर २५ (असोज ९ गते) न्यूयोर्कबाट दोहा हुँदै नेपालतर्फ प्रस्थान गर्ने र सेप्टेम्बर २६ (असोज १० गते) काठमाडौं आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा हुने यस भ्रमणमार्फत नेपालले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय मञ्चमा आफ्नो पछिल्लो राजनीतिक अवस्था, विकासका प्राथमिकता, जलवायु परिवर्तनबाट सिर्जित चुनौती तथा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा प्रस्तुत गर्ने अवसर पाउनेछ। महासभाको यस वर्षको मूल विषय “Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All” रहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।