धरान, भदौ २६ ।
सर्पदंशबाट मृत्यु भएकी ८ वर्षीया बालिकाको उपचार तथा रिफरसम्बन्धी विषयमा उठेका प्रश्नबारे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले आफ्नो धारणा सार्वजनिक गरेको छ।
प्रतिष्ठानका अनुसार भदौ २४ गते साँझ ६ः४७ बजे इटहरी–१ निवासी ८ वर्षीया अश्वाना चौहानलाई देब्रे हातमा सर्पले टोकेपछि उपचारका लागि प्रतिष्ठानको बच्चा आकस्मिक कक्षमा ल्याइएको थियो।
आकस्मिक कक्षमा परीक्षण गर्दा बालिकाको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ। उनको मुटुको धड्कन चलिरहेको र श्वासप्रश्वास आफैं भइरहेको भए पनि उनी अर्धचेत अवस्थामा रहेको, बोलाउँदा प्रतिक्रिया नदिने र आँखाले नहेर्ने अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।
बालिकाको गम्भीर अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले तत्काल आकस्मिक उपचार सुरु गरेको प्रतिष्ठानले जनाएको छ। उपचारका क्रममा अभिभावकसँग परामर्श गरी श्वासप्रश्वास सहज बनाउन इन्टुबेसन गर्ने निर्णय गरिएको थियो। त्यससँगै Anti-Snake Venom (ASV) र Normal Saline समेत सुरु गरिएको प्रतिष्ठानको भनाइ छ।
उपचारकै क्रममा बालिकाको मुटुको धड्कन अचानक कम भएपछि चिकित्सक टोलीले तत्काल CPR (Cardiopulmonary Resuscitation) गरेको र त्यसपछि मुटुको धड्कन पुनः सामान्य अवस्थामा फर्किएको प्रतिष्ठानले जनाएको छ।
तर प्रतिष्ठानमा त्यस समयमा बाल सघन उपचार कक्ष (PICU) मा बेड खाली नरहेको विज्ञप्तिमा उल्लेख छ। बालिकाको ज्यान जोगाउन थप उच्चस्तरीय सघन उपचार आवश्यक रहेको भन्दै उनका आफन्तलाई अवस्थाबारे जानकारी गराइएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार बालिकालाई सोही दिन साँझ ७ः१५ बजे अक्सिजनसहितको एम्बुलेन्समा Bag & Mask मार्फत अक्सिजन दिँदै सावधानीपूर्वक अन्यत्र उपचारका लागि रिफर गरिएको थियो।
प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमर्शेर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बालिकालाई प्रतिष्ठानमा ल्याउँदादेखिकै उपचार प्रक्रिया र रिफरको अवस्थाबारे सत्यतथ्य जनसमुदायसम्म पुर्याउने उद्देश्यले विज्ञप्ति जारी गरिएको उल्लेख छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।