सुनसरीमा १५ लाख २० हजार रुपैयाँ बराबरको अवैध वाटरमेलन सिड्स बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इनरुवा, असोज २० गते । सुनसरीमा प्रहरीले अवैध रूपमा ल्याइएको १ हजार ५२० किलो वाटरमेलन सिड्स (WATER MELON SEEDS) बरामद गरेको छ। बरामद गरिएको बीउको अनुमानित मूल्य १५ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले २०८३ असोज २० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते साँझ करिब ५ः३० बजे सुनसरीको बर्जु गाउँपालिका–२ स्थित केशलिया खोला क्षेत्रमा विराटनगर–देवानगञ्ज सडकखण्डमा सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त सामान फेला परेको हो।

इलाका प्रहरी कार्यालय दुहबी, इलाका प्रहरी कार्यालय सीतागञ्ज र ट्राफिक प्रहरी पोस्ट दुहबीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सडकखण्डमा सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएको वाटरमेलन सिड्स फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको वाटरमेलन सिड्स ३८ बोरामा रहेको थियो। बोराहरूको तौल गर्दा कुल १ हजार ५२० किलोग्राम रहेको र यसको अनुमानित मूल्य १५ लाख २० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद सामानलाई इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। आवश्यक कारबाहीका लागि उक्त सामान सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।