सूचना माग्दा विवाद, दुवै पक्ष प्रहरीमा : कञ्चनरुप नगरपालिकाको घटनाले सुशासनमाथि गम्भीर प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी
सप्तरीअसार २३
सार्वजनिक सूचना माग्न पुगेका स्थानीय युवा र कञ्चनरुप नगरपालिकाका कर्मचारीबीच भएको विवाद अब कानुनी लडाइँमा परिणत भएको छ। एकातर्फ नगरपालिकाका कर्मचारीको उजुरीका आधारमा चार जना युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ भने अर्कोतर्फ ती युवाहरूले प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध कुटपिट, दुर्व्यवहार तथा सूचना दिन अस्वीकार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका छन्।

घटनाले स्थानीय तहमा सूचना पाउने नागरिकको संवैधानिक अधिकार, सार्वजनिक निकायको जवाफदेहिता र प्रहरीको निष्पक्ष भूमिकामाथि समेत प्रश्न उठाएको छ।

घटनाअनुसार स्थानीय युवा बिटु गुप्ता (रोनियार), टुनटुन मण्डल, प्रदीप पासवान र विनोद पासवान सार्वजनिक खर्चसँग सम्बन्धित कागजात माग गर्न नगरपालिकामा पुगेका थिए। उनीहरूले एकल महिला कार्यक्रमअन्तर्गत भएको भुक्तानी, लेखा शाखाको खर्च तथा सुशासन शीर्षकमा विनियोजित बजेटको विवरण माग गर्दै लिखित निवेदन दर्ता गराउन खोजेको बताएका छन्। तर, उनीहरूको आरोपअनुसार नगरपालिकाले निवेदन नै दर्ता गर्न मानेन।

युवाहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले पहिलो दिन व्यस्त रहेको भन्दै अर्को दिन बोलाए पनि पुनः कार्यालय पुगेपछि सूचना उपलब्ध गराउनुको सट्टा नगर प्रहरी परिचालन गरी उनीहरूलाई कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास गरिएको थियो। त्यसक्रममा धक्कामुक्का भएको र टुनटुन मण्डलमाथि हातपातसमेत भएको उनीहरूको दाबी छ।

युवाहरूले प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर, इन्जिनियर शशिकान्त चौधरी, नगर प्रहरी मनिष कुमार चौधरी, अमरेन्द्र साह, कर्मचारी लक्ष्मण कुमार मण्डल तथा रामसुन्दर यादवविरुद्ध कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएका छन्। उनीहरूले घटनालाई सार्वजनिक सूचना माग्ने नागरिकमाथि गरिएको दमनको रूपमा व्याख्या गरेका छन्।

यता, घटनापछि नगरपालिकाका ५६ जना कर्मचारीले पेनडाउन आन्दोलन गर्दै जनप्रतिनिधिसहित इलाका प्रहरी कार्यालय पुगेका थिए। कर्मचारी र जनप्रतिनिधिको धर्नापछि प्रहरीले चार जना युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ। यसले प्रहरीमाथि बाह्य दबाब परेको हो कि भन्ने प्रश्नसमेत स्थानीय स्तरमा उठ्न थालेको छ। यद्यपि प्रहरीले उक्त आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन।

यस घटनाले कञ्चनरुप नगरपालिकामा यसअघि देखिएका विवादलाई पनि पुनः चर्चामा ल्याएको छ। केही दिनअघि पत्रकार अनिश शेख, कैलाश माझी र डम्बर राईमाथि कर्मचारीहरूले दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएको थियो। त्यस घटनापछि चौतर्फी आलोचना बढेपछि नगर प्रमुखले क्षमायाचना गरेका थिए।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी राजन रायमाझीले चार जना युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको पुष्टि गर्दै युवाहरूको तर्फबाट कर्मचारीविरुद्ध परेको निवेदनमाथि पनि अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार दुवै पक्षका दाबी र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइनेछ।

यस घटनाले स्थानीय तहमा सार्वजनिक सूचना माग्ने अधिकार व्यवहारमा कत्तिको सुरक्षित छ भन्ने प्रश्नलाई पुनः सतहमा ल्याएको छ। नेपालको संविधानले नागरिकलाई सूचना पाउने मौलिक हक सुनिश्चित गरेको छ भने सूचना सम्बन्धी कानुनले सार्वजनिक निकायलाई सूचना उपलब्ध गराउने दायित्व तोकेको छ। यस्तो अवस्थामा सूचना माग्ने विषय नै प्रहरी मुद्दासम्म पुग्नुले स्थानीय प्रशासन, जनप्रतिनिधि र सार्वजनिक निकायबीचको विश्वासमा गम्भीर दरार देखिएको विश्लेषण हुन थालेको छ।

अब अनुसन्धानले घटनाको वास्तविकता के हो भन्ने स्पष्ट पार्नेछ। तर, घटनाले कञ्चनरुप नगरपालिकामा सुशासन, पारदर्शिता र नागरिक अधिकारको अवस्थामाथि भने गम्भीर बहस सुरु गराएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।