विद्यालय भर्ना अभियान सुरु, बालबालिकालाई नियमित शिक्षालय पठाउन प्रधानमन्त्रीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 १ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको विद्यालय भर्ना अभियानलाई सफल बनाउन अभिभावक र सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताएका छन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नारासहित सुरु भएको भर्ना अभियानलाई सफल बनाउन प्रधानमन्त्रीले आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले समृद्धिको आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ता लाग्नुपर्नेमा जोड दिएका छन्। शिक्षा क्षेत्रमा बजेट अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै विगत १० देखि शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

अहिले अनिवार्य तथा निःशुःल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन्।

अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या करिब २० प्रतिशत रहनु दुःखको कुरा भएको प्रधानमन्त्रीको भनाइ छ।

अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन अझै मिहिनेत गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ।

उनले भनेका छन्, ‘यसमा थप सुधार गर्न शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेछ। यसका लागि प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील र सीपयुक्त जनशक्ति निर्माण हाम्रो प्राथमिकतामा छ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।